झापा। झापामा सहकारी ठगीसम्बन्धी ४० जनामाथि उजुरी परेको छ । करिव ३ करोड रकम ठगी गरेको आरोपमा तीनवटा सहकारी संस्थाका ४० जनामाथि उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उजुरी परेकामध्ये ६ जना पक्राउ परेका छन् । बचतकर्ताहरुको २ करोड ४ लाख ४८ हजार ७२४ रुपैयाँ हिनामिना गरेको आरोपमा जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्तिका १७ जनामाथि उजुरी परेको थियो । त्यसमध्ये ३ जना पक्राउ परेका छन् ।
त्यस्तै निक्षेपकर्ताहरुको ६० लाख २ हजार ८०२ रुपैयाँ हिनामिना गर्ने शुभसाइत सहकारी संस्था भद्रपुरका ७ जना संचालकमाथि उजुरी परेको थियो । तीमध्ये ३ जना पक्राउ परेका छन् । त्यस्तै उन्नति बचत तथा ऋण सहकारी संस्था शिवसताक्षीका १६ जना संचालकमाथि उजुरी परेको छ । ३५ लाख ८ हजार ५५१ रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरुमाथि उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापाका अन्य सहकारीमा पनि ठगी भएको पाइएपनि उजुरी पर्न सकेको छैन । उजुरी नपर्दा प्रहरीले कार्वाही गर्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । ‘परेका उजुरीमाथि कार्वाही गरेका छौं ’ उनले भने,‘ उजुरी पर्नेबित्तिकै कार्वाही शुरु गर्छौ ।’
सहकारीहरुले निक्षेप फिर्ता नदिएको भनेर इलाका प्रहरी कार्यालय दमकमा गुनासो लिएर निक्षेपकर्ताहरु आउने गरेको डीएसपी निशान थापाले बताए । उनले ती गुनासोका सम्बन्धमा सम्बन्धित सहकारी संस्थालाई निक्षेप फिर्ता गर्न भन्ने गरिएको जानकारी दिए ।
लेनदेन नमिलाएको भन्दै बिर्तामोडको एउटा सहकारीमाथि पनि उजुरी परी सो मुद्धा जिल्ला प्रहरी कार्यालयमा पठाएको जनाइएको छ । केही दिनअघि एक अन्तर्वार्तामा तत्कालीन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले निक्षेप फिर्ता नगर्ने सहकारीमाथि निक्षेपकर्ताले उजुरी गरे तत्काल पक्राउ गरी थुन्ने बताएका थिए ।