झापा । राष्ट्रिय भाक्का दिवसको अवसरमा झापाका तीन पालिकाले आज सार्वजनिक विदा दिएका छन् ।
आदिवासी राजवंशी समुदायको बाहुल्यता रहेको झापा क्षेत्र नम्बर ३ अन्तरगतका भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय विदा दिएका हुन् ।
राजवंशी समुदायले आफ्नो जातीय परिकार भाक्कालाई प्रवर्द्धन गर्न हरेक वर्ष पुष २९ गते दिवसको रुपमा मनाउँदै आएका छन् । राजवंशी समाज विकास समिति झापाले हिजो भद्रपुरमा भाक्का पीठ उत्सव विविध कार्यक्रम गरी मनाएको छ । राजवंशी समाज विकास केन्द्रीय समितिले आज बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आठौँ राष्ट्रिय भाक्का दिवस मनाउँदै छ ।
यस वर्ष दमक नगरपालिकाले पहिलो पटक कार्यक्रम गर्ने भएको छ । दमक नगरपालिकाले स्थायी ठेगाना दमक भई दमक नगरभित्र भाक्काको व्यवसाय गरेर आयआर्जन गरिरहेका भाक्का व्यवसायीहरुलाई प्रोत्साहन गर्ने भएको छ । आज दमक नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले सो कार्यक्रम गर्ने भएको छ ।
अर्जुनधाराको शनिश्चरे बजारमा पनि भाक्का दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको छ । सोही अवसरमा अर्जुनधारा ८ नम्बर वडा कार्यालयले हिजो शनिश्चरेका १३ जना भक्का ब्यापारीलाई अचार बनाउने मिक्चर मेसिन वितरण गरेको छ ।
आदिवासीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा भाक्का दिवस मनाउँदै आइरहेको छ ।