अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको ८ नम्बर वडा कार्यालयले १३ जना भक्का व्यवसायीहरुलाई प्रोत्साहनस्वरुप अचार बनाउने मिक्चर मेसिन आज वितरण गरेको छ । अर्जुनधारा ८ को चोक बजार क्षेत्रमा भक्का बेच्दै आएका महिलाहरुलाई व्यावसायिक बनाउने उद्देश्यले उक्त मेसिन वितरण गरिएको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले बताए ।
भक्का बनाउने, बिक्री गर्ने पेसालाई सम्मान गर्दै वडा कार्यालयले सानो सहयोग प्रदान गरेको उनको भनाइ थियो । जाडोको समय र भक्का दिवसमा मात्र नभएर सधैँ बिक्री वितरण गर्ने वातावरण तयार गर्न पनि वडा कार्यालयले सहयोग गरेको बताइएको छ । मिक्चर मेसिन पाएपछि भक्का व्यवसायी महिलाहरु खुसी देखिन्थे । उनीहरुले वडाको सानो सहयोगले भक्काका लागि चाहिने अचार बनाउन सहज भएको प्रतिक्रिया दिएका छन् ।
जाडोमा अचार पिस्न गाह्रो हुने, मसला नपिसिनिे समस्याबाट मुक्त भएको स्थानीय भारती राजवंशीले बताइन् । उनीसँगै भक्काको व्यवसाय गर्दै आएका लक्की वर्मन, पुष्पा, शान्ता, राधिका, कुमारी खवास, लक्ष्मी राई, जानुका धिमाल, भारती राजवंशी, मिनु राजवंशी, बिना तामाङ, रिता खवास र बिसु राजवंशीले वडा कार्यालयबाट एक वर्षको वारेन्टी भएको मिक्चर मेसिन पाएका हुन् । उनीहरुलाई वडाध्यक्ष उप्रेतीसहित वडा सदस्यहरु सुजता रसाइली, मनोज थापामगर, ऋषिप्रसाद घिमिरेलगायत कर्मचारीहरुलेलगायतले मिक्चर मेसिन प्रदान गरेका थिए ।
यसैबीच, वडा कार्यालयसँग समन्वय गर्दै शनिश्चरे बजारमा समाजसेवी युवाहरुले सोमबार बिहान र साँझको समयमा भक्का दिवसको आयोजना गरेका छन् । पहिलोपल्ट अर्जुनधारा नगरक्षेत्रमा आयोजना गरिएको भक्का दिवसमा सहभागी हुन आग्रह गर्दै वडा कार्यालयले भक्का दिवस सफल बनाउन सबैको जिम्मेवारी रहेको उल्लेख गरेको छ ।
आदिवासी समुदायको परम्परागत परिकार भक्का (भाक्का) भोलि पुस २९ गते विभिन्न स्थानमा पर्व (दिवस)को रुपमा मनाइँदैछ । जाडोयाममा मात्र शहर बजारका चोक चोकमा भक्का पारखीहरुको घुइँचो देखिने गरेको छ । तर, यसको संरक्षण र सम्वद्र्धनका लागि कतैबाट पनि पहल भएको पाइँदैन । पछिल्लो केही वर्षदेखि पुस २९ गतेलाई भक्का दिवसको रुपमा मनाइँदै आएको छ । झापाका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ ।