बिर्तामोड बसपार्कको जग्गा समस्या तत्कालै नै समाधान हुन्छ–सभामुख घिमिरे

झापा । सभामुख देवराज घिमिरेले बिर्तामोड बसपार्कको जग्गा समस्या आज भोलि नै समाधान हुने बताएका छन् । बिर्तामोड बसपार्कको ५१ विघा जग्गाको ११५३ कित्ताको कारोवार रोक्का भएको सम्बन्धमा त्यसको समाधान चाँडै हुने सभामुखले आश्वासन दिएका हुन् ।

अर्जुनधारामा भएका भूमिसम्बन्धी समस्याका बारेमा आज सरोकारवालाहरुसंगको अन्तरक्रियामा उनले मालपोत कार्यालय झापाले गत जेठ महिनामा पठाएको पत्रको जवाफ भूमिसुधार मन्त्रालयले आज भोलि नै पठाउन लागेको जानकारी दिए । हिजो झापा आउनुअघि आफूले भूमिसुधार मन्त्रीलाई मालपोत कार्यालयले पठाएको पत्रका सम्बन्धमा जिज्ञासा राखेको र त्यसको प्रतिउत्तर आज भोलि नै मन्त्रालयले विभागलाई पठाउन लागेको कुरा मन्त्रीले जवाफ दिएको घिमिरेले जानकारी दिए ।

‘ हिजो भूमिसुधार मन्त्रालयका सचिव आउनु भएन । आज आउनु हुन्छ र साँझ पाँच बजेभित्र पत्रको जवाफ पठाउने भनेर मन्त्रीसंग फोनमा कुराकानी भएको हो ’ उनले भने ।यसअघि अर्जुनधारा नगरपालिकाको सभाहलमै गत असार २३ गते भएको अन्तरक्रिया कार्यक्रममा सभामुख घिमिरेले बिर्तामोड बसपार्कको जग्गा समस्या समाधानका लागि पहल गर्ने बताएका थिए । तर आठ महिना बितिसक्दा पनि बसपार्कको समस्या ज्युँको त्युँ छ ।

सर्वोच्चको फैसला आएदेखि मालपोत कार्यालय झापाले बिर्तामोड बसपार्कको जग्गाको कारोबार रोकेपछि अर्बौको लगानी गरेका पाँच सयभन्दा बढी जग्गाधनी समस्यामा परेका छन् । सर्वोच्चको फैसलाले बसपार्कको ११५३ कित्ता रोक्का भएको हो । त्यसबाट उत्पन्न अन्यौलतालाई छिटो अन्त्य गर्न बसपार्कबासीहरुले लगातार ध्यानाकर्षण गराउँदै आएका छन् । केही दिनअघि बसपार्कबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना समस्याबारे ज्ञापनपत्र बुझाएका थिए । नगर प्रमुख बलदेवसिंह गोमदेनसंग बसपार्कबासीहरु आफ्ना समस्याबारे ध्यानाकर्षण गराउन काठमाण्डौ गएका थिए । पटक पटक ध्यानाकर्षण गराउँदासमेत समस्याको समाधान नभएपछि आन्दोलन गर्नुको अब विकल्प नरहेको भूमिसम्बन्धी अर्जुनधाराका फोकल पर्सन वीरबहादुर राईले बताए । त्यस्तै बिर्तामोड बसपार्कबासीका तर्फबाट सुजन शिवाकोटीले सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा आफूहरु घरजग्गा भएर पनि भूमिहीन बन्नुपरेको र समस्याको दीर्घकालीन समाधान नभए जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

गत बैशाख ३१ गते सर्वोच्च अदालतले गिरीबन्धु टि इस्टेटको जग्गाको बारेमा फैसला सुनाएको थियो । सर्वोच्चले गिरीबन्धु टि स्टेटको ३४३ बिघा १९ कठ्ठा १२ धुर जग्गा सट्टापट्टा हुन नसक्ने फैसला सुनाउँदै २०६५ सालमा बिक्री वितरण भइसकेको बिर्तामोड बसपार्कको ५१ विघा जग्गालाई समेत फैसलामा जोडेको थियो । त्यसपछि बिर्तामोड बसपार्कको जग्गाको बारेमा उत्पन्न अन्यौलताका विषयमा मालपोत कार्यालय झापाले स्पष्ट पारिदिन भूमिसुधार मन्त्रालयलाई गत जेठ महिनामा पत्र पठाएकोमा अझैसम्म त्यसको प्रतिउत्तर नआएको प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलले बताए ।

करिव १५ वर्षअघि बिक्री वितरण भइसकेर तेस्रो पक्षमा गइसकेको बिर्तामोड बसपार्कको जग्गाको विषयमा सर्वोच्चले गरेको फैसलाको स्पष्ट व्याख्या नहुँदा र भूमिसुधार मन्त्रालयले समेत प्रतिउत्तर नपठाउँदा बिर्तामोड बसपार्कबासी चिन्तित र अन्यौल बनेका छन् । गिरीबन्धुको बारेमा सर्वोच्चले उत्पन्न गराएको अन्यौलता र आफूहरुलाई परेको समस्यालाई लिएर अर्जुनधारा –११ र बिर्तामोड–५ स्थित बिर्तामोड बसपार्कबासीहरु संघर्ष समिति गठन गरी आन्दोलित छन् ।

टेकबहादुर गिरी बसपार्कसमेत रहेको ५१ विघा जग्गामा ४०२ वटा घर निर्माण भएका छन् । ५१ विघा जग्गामध्ये ३८ विघा जग्गा प्लटिङ गरिएको थियो भने बाँकी खाली नै रहेको छ । प्लटिङमा आवासीय घरसंगै टेकबहादुर गिरी बसपार्क, पाथीभरा इन्जिनियरिङ कलेज ,कान्तिपुर ड्राइभिङ सेन्टरजस्ता व्यावसायिक संस्था छन् । त्यस्तै दुई दर्जनको हाराहारीमा होटलहरु संचालनमा रहेका छन् ।

झापा क्षेत्र नं २ का संघीय सांसदसमेत रहेका घिमिरेसंग अर्जुनधारा १ मा नेपाली सेनाले ओगटेको ९३५ विघा १० कठ्ठा १० धुर जग्गाको समस्या,वडा नं ८ को मोरङ क्यानिङ कम्पनीको १०६ विघा जग्गाको समस्या , वडा नं ७ मा खोलाको जग्गामा बस्ती र नम्बरी जग्गामा खोला कुदेपछि करिव ६ सय परिवारलाई परेको समस्या , कालीस्थान मावि , मन्दिर र गुम्बाको जग्गा समस्या , सुकुम्बासी आयोगले तोकेको महँगो राजश्वको समस्यालगायतका विषयमा सरोकारवालाहरुले ध्यानाकर्षण गराएका थिए । प्रदेश सांसद चिन्तन पाठक , नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी , प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी , मालपोत कार्यालय झापाका प्रमुख राजेशप्रसाद पोखरेललगायतको सहभागिता रहेको कार्यक्रममा अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देनले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
101
सम्बन्धित

लोकप्रिय

लोकप्रिय