धुलाबारी । नेपालका लागि बंगलादेशका कार्यबहाक राजदुत महमद हुमाई कविरले नेपाल र बंगलादेश व्यवसायिक रुपमा ठुलो सम्भावना बोकेको देशहरु भएको बताएका छन् ।
आज साँझ धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सले आयोजना गरेको भेटघाटमा महामहिम कविरले यस्तो कुरा बताएका हुन् ।
‘भारतसँग जति बंगलादेशले व्यापार गरिरहेको छ, त्यो नेपालसँग भएको छैन’ कार्यबहाक राजदुत कविरले भने–‘नेपाल र बंगलादेश व्यापारका लागि ठुलो व्यवसायिक सम्भावना छ । त्यसका लागि मैले सक्ने प्रयत्न गर्नेछु ।’
नेपाल र बंगलादेशबीच भएका व्यापारका विभिन्न सहमतिका विषय र भावि योजनाका बारेमा प्रकाश पारेका थिए ।
नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन, इनकमिन प्रेसिडेन्ट किशोर क्षेत्री (कपिल) ले नेपाल, भारत र बंगलादेशको सीमा नाकामा उद्योगी व्यवसायीलाई हुने विभिन्न समस्याहरुलाई सहजरुपमा निराकरण गरिदिन महामहिमलाई अनुरोध गरेका थिए ।
जैन र क्षेत्रीले विद्युत, पानी, ढुंगागिटी, प्लाईउड, भेनियर, खाद्यान्न लगायतको व्यापारमा बंगलादेश र नेपालले कर र अन्य झनझटिलो प्रक्रियालाई सहज गरिदिन माग समेत गरेका थिए ।
जैन मेची उद्योग बाणिज्य संघका पनि संस्थापक अध्यक्ष हुन् । त्यस्तै क्षेत्री संघका वरिष्ठ उपाध्यक्ष हुन् ।
कार्यक्रममा मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारी, नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सकी सदस्य शर्मिला क्षेत्री लगायतत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ दुतावासबाट विराटनगर आएका उनी आज झापा बसेका छन् । भोलि मेची भन्सार कार्यालयमा कार्यक्रम रहेको छ ।
भर्खरै बंगलादेशमा विद्यार्थीको आन्दोलनपछि प्रधानमन्त्री शेख हसिना पदमुक्त भएपछि नेपालका लागि बंगलादेशका राजदुत सलाहुद्धदीन नोमन चौधरी हटेपछि कविर कार्यबहाक राजदुत भएका थिए ।
कार्यक्रमको सहजीकरण नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका महासचिव ध्रुब कनालले गरेका थिए ।