कुवेतमा दुई नेपाली महिला श्रमिकको निस्सासिएर मृत्यु

गैरकानुनी बाटो हुँदै रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला श्रमिकको मृत्यु भएको छ । चिसोबाट बच्न कोइला बालेर सुतेका उनीहरूको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा पीपलमाढी–३ सिन्धुलीकी २१ वर्षीया अदिमाया तामाङ र हिलिहाङ–२ पाँचथरकी ५६ वर्षीया कमलादेवी लिम्बु रहेको कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापामगरले जानकारी दिए । उनका अनुसार अत्यधिक चिसोका कारण कोइला बालेर सुत्दा उनीहरूको मृत्यु भएको हो ।

उनीहरूको मृत्यु बारेमा कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको थापामगरले बताए । दूतावासले पनि रोजगारदाता कम्पनीसँग समन्वय गरेर मृतकको शव नेपाल पठाउने कानुनी प्रक्रिया थालिसकेको जनाएको छ । केही दिनअघि मात्र प्यूठानको सरुमारानी बस्ने २१ वर्षीया यानीसरा घर्ती मगरले कुवेतमै आत्महत्या गरेकी थिइन् ।

यससँगै एक साताको अवधिमा कुवेतमा तीन जना घरेलु महिला कामदारले ज्यान गुमाएका छन् । पछिल्लो समय गैरकानुनी बाटो हुँदै कुवेत पुगेका सयौं नेपाली महिला घरेलु कामदारले आफूलाई घरमालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध गर्दै आएका छन् ।

साउदीमा पनि सुतेकै ठाउँमा नेपाली कामदारको मृत्यु
यसैगरी, रोजगारीको सिलसिलामा साउदी पुगेका दाङका एक युवाको आफू सुतेकै स्थानमा मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका–६ थपगाउँका ३८ वर्षीय अर्जुन सार्की रहेका छन् । सार्कीको राति सुतेकै अवस्थामा मृत्यु भएको हो ।

उनी ३८ महिनाअघि काठमाडौंस्थित मोन्टेज म्यानपावरमार्फत साउदी पुगेका थिए । उनी त्यहाँको लजिस्टिक कम्पनीमा काम गर्दै आएका थिए । उनी कम्पनीमा काम गरी आफ्नै कोठामा खाना खाएर सुतेको अवस्थामा मृत फेला परेका हुन् ।

मृतकका परिवारजनले शवलाई नेपाल पठाइदिन रियादस्थित नेपाली दूतावास, संघ संस्था र नेपाल सरकारसँग आग्रह गरेका छन् । मृत्यु भएको कारण भने खुल्न सकेको छैन । मृतकको घरमा आमा, श्रीमती र दुई सन्तान छन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
1
+1
0
184
सम्बन्धित

लोकप्रिय

लोकप्रिय