काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि मुद्दा दायर भएको छ।
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो। उनीहरुविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो।
प्रहरीले लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको थियो। पाँचजनाको ठेगाना नखुलेकोले ३९ जनाविरुद्ध मात्रै मुद्दा दायर भएको हो। उनीहरुविरुद्ध २ अर्ब ४१ करोड बिगो दाबी गरेको छ।
प्रहरीका अनुसार उक्त सहकारीबाट गोर्खा मिडियामा मात्रै ६४ करोड रकम गएको छ।