काठमाडौं । दोलखामा आगलागी हुँदा एकजना घाइते भएका छन् । जिरी नगरपालिका–२ छेर्मादिङस्थित ढुंगा र माटोबाट निर्मित जस्ताको छानो रहेको दुईतले कच्ची घरमा आगलागी भएको हो ।
स्थानीय ३४ वर्षीय भीमबहादुर खड्काको उक्त घरमा बुधबार बेलुका करिब ८ बजेतिर आगलागी भएको थियो । भान्साकोठामा ट्रयाक्टरमा प्रयोग गर्न राखिएको पेट्रोलको भाँडामा आगो सल्कँदा घर जलेर नष्ट भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आगो निभाउने क्रममा घरधनी खड्का घाइते भएका छन् । उनको बायाँ खुट्टाको घुँडामुनिको भागमा आगोले पोलेको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा बुधबारै राति करिब ९ः५० बजे आगलागी नियन्त्रणमा लिइएको थियो । घाइते खड्का जिरी अस्पतालमा उपचाररत छन् ।
आगलागीबाट करिब पाँच लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।