झापा । पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको उपाधिका लागि आज ए डिभिजन लिग लिडर चर्च ब्वाईज युनाईटेड र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
फाइनल खेल फिदिम माविको खेल मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। दुवै टोली ११औँ संस्करणको उपाधि जित्ने लक्ष्यमा छन्। हिजो भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षकले उपाधिको लागि तयार रहेको बताएका थिए।
२०७९ को ए डिभिजन लिग विजेता चर्च ब्वाईजले गत हप्ता झापा कपको उपाधि जितेको थियो। उसले यो सिजनमा मात्रै तेस्रो फाइनल खेल्न लागेको हो। मच्छिन्द्र क्लब भने यो सिजनमा पहिलोपटक फाइनल पुगेको हो। उसले सेमिफाइनलमा न्यूरोड टिम एनआरटीलाई पराजित गरेको थियो।
यस्तै चर्च ब्वाइजले आयोजक फिदिम स्पोटिङ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाल्गुनन्द गोल्डकपको उपाधि विजेताले १० लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन्।