काठमाण्डौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ । १८१ जना यात्रु बाेकेकाे विमान दुर्घटनामा २ जनाको भने जिवितै उद्धार गरिएका छ । योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको हाे ।
१८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । २ जना बाहेक सबैको मृत्यु भएको छ ।
१ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७–८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो । विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए । आपत्कालिन सेवाका अधिकारीहरूले उद्धार गरिएका बाहेक सबैको ज्यान गएको जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजिनक दृष्यहरूमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ । दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको छ ।