फिदिम । पूर्वेली फुटबलमा एकपछि अर्को सनसनी मच्चाइरहेको पाहुना टोली चर्च ब्वाइज युनाइटेड यहाँ जारी ११औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आयोजक फिदिम स्पोर्टिङ क्लबलाई उसकै घरेलु मैदानमा पराजित गर्दै चर्च ब्वाइजले फाइनलमा स्थान बनाएको हो । आज भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइजले ३-१ गोलअन्तरमा आयोजकलाई पराजित गरेको छ ।
हजारौँ दर्शकले भरिएको फिदिम माविको मैदानमा सुरुवाती अग्रता भने फिदिमले लिएको थियो । खेलको ४२औँ मिनेटमा दिनेश शेर्माले गोल गर्दै अग्रता दिलाएका थिए । फिदिमले गरेको गोलको अग्रता धेरैबेर टिक्न सकेन ।
पहिलो गोलको खुसी साट्न नपाउँदै चर्च ब्वाइजले गोल गरेर बराबरी गर्यो । चर्चका लागि समिर तामाङले बराबरी गोल गरेका हुन् । दोस्रो हाफमा चर्चका विदेशी खेलाडी अर्माण्ड र अबयोमीले गोल गर्दै उपाधि नजिक पुराएका हुन् ।
प्लेयर अफ दी म्याच चर्चका अबयोमी भए । उनले नगद १० हजार पाए । भोलि चिरपरिचित प्रतिद्वन्द्वी न्यू रोड टिम (एनआरटी)ले मच्छिन्द्र एफसीबीच अन्तिम सेमिफाइनल हुनेछ । गोल्डकप विजेताले नगद १० लाख ५ हजार ५५५ पाउने छ ।