झापा । नेपाल तमु विद्यार्थी छोंज धिं जिल्ला कार्य समिति झापाको आयोजनामा एक दिने प्रथम स्युँरा साँस्कृतिक कार्यक्रमको आरम्भ गरिएको छ ।
विशेष गरी पुष १५ मा मनाईने गुरुङ जातिको तमु ल्होसारको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान सँगै आफ्नो मौलिक संस्कृतिको प्रवद्धन गर्दै तिहारमा खेलिने देउसी भैलो कार्यक्रम जस्तै खेलेने परम्परा रहेको तमु विद्यार्थी छोंज धिं जिल्ला कार्य समितिकी महा सचिव ममता तमुस्योले बताइन् ।
तमु ल्होसारले मुप्री ल्हो (गरुड वर्ग) लाई बिदाई गदै नयाँ वर्ष सप्री ल्हो (सर्प वर्ग) को आगमनको अवसरमा शुभकामना आदान प्रदान गरि तमु समुदायमा पूर्व जानकारी गर्दै ल्होसार भित्रिँदै छ भन्ने संकेत दिइने यो साँस्कृतिक परम्परा रहेको उनी बताउँछिन् ।
जिल्लाका अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाका स्थानमा पुगि विद्यार्थीहरुको समुहले तमु समाज लाई निम्तो दिई भेला भई स्युँरा साँस्कृतिक कार्यक्रम गर्ने गरिएको छ ।
पूर्वमा पहिलो पटक आरम्भ गरिएको स्युँरा साँस्कृतिक कार्यक्रम मौलिक संस्कृतिको प्रवद्धन गर्दै आगामी दिनमा निरन्तरता दिदै जाने विद्यार्थी छोंज धींका केन्द्रीय समितिकी महिला उपाध्यक्ष सिर्जना तमुस्योले जानकारी दिइन् ।
ल्होसारको महत्व :
गुरुङ जातिको ऐतिहासिक पर्व तमु ल्होसार पर्वको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्दै प्रत्येक वर्ष मञ्जुश्री ज्योतिष शास्त्रमा आधारित पात्रोको एघारौं महिना वा पुष महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयाँ पालुवा फेरिने र यहाँबाट नै रात छोटों र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई नयाँ सालको रुपमा मनाएको पाइन्छ ।
तमु ल्होछार गुरुङ जातिको मुख्य पर्व हो । ल्होसार शब्द ल्हो+ सार दुइवटा शब्द मिलेर बनेको छ, जसको शाब्दिक अर्थ पर्गेल्दा तमु भाषामा ल्हो को अर्थ वर्ग र सार को अर्थ नयाँ हो । त्यसैले, यसलाई नयाँ वर्ग फेरिने दिन तथा नयाँ वर्षको रुपमा हेरिन्छ ।
प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।