काठमाडौं । दक्षिण एशिया मध्यकै एक अब्बल एआई शिक्षासम्बन्धी ११ दिने कार्यक्रम नेपालमा आयोजना हुने भएको छ।
नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (एनएएएमआईआई)ले बुधबार प्रेस सम्मेलनमार्फत एनुअल नेपाल एआई स्कूलको आयोजना गर्ने घोषणा गरेको हो।
पुस १२ देखि २२ गतेसम्म ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कूलमा उक्त कार्यक्रम सञ्चालन हुने भएको छ। यो प्रतिष्ठित कार्यक्रमको पाँचौं संस्करण आर्टिफिसियल एन्टिलिजेन्स्को आधार र कार्यान्वयनहरूमा केन्द्रित हुने छ।
संसारभरबाट वैज्ञानिक, प्राध्यापक र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला, र परियोजना कार्यका लागि कार्यक्रमले एकै ठाउँमा ल्याउने भएकाले यो दक्षिण एशियाकै सबैभन्दा ठूलो र सबैभन्दा पृथक मञ्च भएको आयोजकको दाबी छ।
यसले आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्ने छ।