विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा १ जना भारतीय नागरिक हुन् ।
मंगलबार मोरङको जहदा गाउँपालिका-३ की २३ वर्षीय महिला घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपालिका-२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।
अचेत अवस्थामा भेटिएर उद्धार गरिएकी महिलाको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए ।
मंगलबार दिउँसो पराल लिन गएकी महिलाले हातखुट्टा बाँधेको अवस्थामा ती महिलालाई भेटेपछि प्रहरीलाई खबर पुगेको थियो । स्थानीयको सहयोगमा प्रहरीले महिलाको उद्धार गरी कोशी अस्पताल भर्ना गरेको थियो । महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
प्रहरीका अनुसार घरबाट शौच गर्न निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी-२ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । घटनाको विषयमा प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रमुख नारायण चिमरीयाले जानकारी दिए ।