काठमाडौं । मुगुको उच्च हिमाली क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकामा ३० भन्दा बढी याक र चौंरीहरु १२ घण्टाको अवधिमा मरेका छन् ।
गाउँपालिकाको वडा नम्बर २ स्थित कार्मारोङ्गमा चौंरी र याकमा श्वासप्रश्वासमा समस्या देखिने र पहिलो लक्षण देखिएको १२ घण्टाभित्र मृत्यु हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ‘नाकबाट रगत निस्कने, श्लेष्माजन्य स्राव, जसमा खाना कण पनि मिसिएको पाइएको छ । केही केसहरूमा रगतसहितको श्लेष्माजन्य दिसा देखिएको छ,’ मन्त्रालयले भनेको छ ।
उक्त क्षेत्रमा करिब ५ सय याक र चौंरीहरु रहेको अनुमान गरिएको छ । मन्त्रालयका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढा नेतृत्वको एउटा टोली प्रभावित क्षेत्रमा जाँदै छ । तर, हिमपातका कारण टोली हालसम्म उक्त क्षेत्रमा पुग्न सकेको छैन ।
टोली दुई दिनअघि मुगु सदरमुकाम गमगढीबाट परिचालन गरिएको थियो । उक्त टोली सम्भवतः आज बेलुकासम्म प्रभावित क्षेत्रमा पुग्ने छ ।