बिर्तामोड । प्रथम झापा कपको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन हिजो खेलमैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।
ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा रहेका छन् । इलाम गोल्डकपपछि उनीहरु छिमेकी जिल्ला झापामा झापा कपको फाइनलमा खेल्दै छन् । झापा कपको पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस् क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो ।
त्यस्तै, चित्लाङ फुटबल क्लबलाई रोक्दै अन्तिम चारमा प्रवेश गरेको एनआरटी इटहरीको राष्ट्रिय जागृतिलाई टाइब्रेकरमा पछि पार्दै फाइनल पुगेको हो । प्रि–म्याच कन्फ्रेन्समा चर्च ब्वाइजका टिम कप्तान कमल श्रेष्ठ र प्रशिक्षक सुमन श्रेष्ठले फाइनलको उपाधि हात पार्ने दाबी गरेका छन् ।
बेन्चमा रहेका अनन्त तामाङ प्लेइङ ११ मा रहने प्रशिक्षक श्रेष्ठले बताए । इलामको हारको बदला लिनेगरी खेल खेल्ने उनको भनाइ थियो ।
एनआरटीका कप्तान अञ्जन विष्ट र प्रशिक्षक जीवन सिंकेमानाले पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरेका छन् । आफ्नो टिम सन्तुलित रहेको र खेलाडीहरु युवा तथा एकताबद्ध रहेकाले बलियो रहेको प्रशिक्षक सिंकेमानाले बताए । प्रिम्याच कन्फ्रेन्सको सहजीकरण प्रतियोगिता संयोजक केशवराज दाहालले गरेका थिए ।
यसअघि, यही रंगशालामा गत वर्ष फागुनमा भएको छैटौँ झापा गोल्डकपमा चर्च ब्वाइजले बाइमा रहेको एनआरटीलाई पहिलो चरणमै रोकेको थियो । छैटौँ झापा गोल्डकपको च्याम्पियन चर्च ब्वाइज यही मंसिर अन्तिम साता भएको इलाम गोल्डकपमा भने एनआरटीसँग फाइनलमा पराजित भएको थियो । एनआरटीले चर्च ब्याइजलाई ३–० गोलअन्तरले पराजति गर्दै उपाधि जितेको थियो ।
त्यस्तै, सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज हाबी देखिएको थियो । लिगको छैटौँ चरणमा चर्च ब्वाइज र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए । १५ औँ चरणमा चर्च ब्वाइजले एनआरटीलाई ४–१ गोल अन्तरले हराएको थियो ।
चर्च ब्वाइजमा लिगताकाका खेलाडी अनन्त तामाङ मात्र रहेका छन् भने त्यो बेलाका गोलकर्ता अञ्जन विष्ट हाल एनआरटीमा आवद्ध छन् । चर्च ब्वाइज बि डिभिजन जितेर ए डिभिजन च्याम्पियन बनेको ललितपुरे टोली हो भने ९१ वर्षको इतिहास बोकेको एनआरटीले पाँचपटक शीर्ष लिग जितेको छ ।
प्रिम्याच कन्फ्रेन्समा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले झापा कपका विषयमा उठेका प्रश्नको जवाफ दिएका थिए ।