अर्जुनधारा । नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाको सभापतिमा जीव कुमार भण्डारी (जीवन) निर्वाचित हुनुभएको छ ।
नयाँ नेतृत्व छनोटका लागि आज भएको मतदानमा भण्डारीले १५४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्दी निवर्तमान सभापतिसमेत रहनुभएका मुकुन्द भण्डारीले ११५ मत प्राप्त गर्नुभयो । विजयी हुनुभएका जीव कुमार भण्डारी अर्जुनधारा वडा नम्बर ३ का पूर्व वडाअध्यक्ष हुन् ।
त्यस्तै उपशाखाको सचिवमा जीवन भण्डारी नेतृत्वको प्यानलबाट हेमु कटुवाल निर्वाचित हुनुभयो । कटुवालले निर्वाचनकै सर्वाधिक १७५ मत प्राप्त गर्दा सचिवका अर्का उम्मेदवार पदमबहादुर निरौलाले ८९ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपशाखाको कोषाध्यक्षमा जीवन भण्डारी नेतृत्वको प्यानलबाटै विन्दा पाण्डे आचार्य (निशा) विजयी बन्नुभयो । आचार्यले १६४ मत प्राप्त गर्दा प्रतिद्वन्दी प्रसादकुमार गुरगाँईले १०२ मत प्राप्त गर्नुभयो ।
उपशाखाको उपसभापतिमा बन्दना श्रेष्ठ, उपसचिवमा निर्मला दंगाल र उपकोषाध्यक्षमा राम खड्का यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै महीला सदस्यमा कुन्तादेवी पोख्रेल निर्विरोध निर्वाचित हुँदा सदस्यहरुमा सागर घिमिरे, सन्दीप बराल, खेमबहादुर समाल र भिमशंकर सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचित भएका उपशाखाका पदाधिकारी तथा सदस्यहरुलाई रेडक्रस झापा शाखाका सभापति लोकराज ढकालले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखामा ३ सय १५ जना मतदाता रहेका छन् । निर्वाचनमा २ सय ७८ मत खसेको थियो ।
अर्जुनधारा-२ स्थित झेलेनीमा रहेको उपशाखाको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो ।