वीरु दर्नाल, झापा । झापाको बुद्धशान्ति गाउँपालिकाबाट वेपत्ता भएका दुई किशोरीहरु अझै फेला नपरेको परिवारले बताएका छन् ।
२० दिनअघि घरबाटै हराएका ती किशोरीहरु अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् । बुद्धशान्ति –२ की सात कक्षामा पढ्ने १३ वर्षिया कामना रणपहेंली र सोही पालिका वडा नं– १ की कक्षा ८ मा पढ्ने वर्ष १४ की गृष्मा नेपाली बेपत्ता भएका हुन् ।
कामनाका बुबा सनमान रणपहेँली र गृष्माका आमा संगीता नेपालीका अनुसार उनीहरुलाई सबै ठाउँमा खोजतलास गरिएपनि कुनै जानकारी पाउन सकेको छैन । स्थानीय प्रहरी कार्यालय , माईती नेपालमा समयमै खबर गरिएको र त्यहाँबाट पनि अहिलेसम्म कुनै खबर नआएको अभिभावकद्वयले बताए ।
सम्पर्कबिहीन किशोरीहरुको बारेमा बुधवारे प्रहरी चौकीमा बुझ्दा पहिले पनि स्थानीय मेलाबाट हराएर केही दिनपछि प्रहरीले नै खोजेर ती किशोरीहरुलाई अभिभावकको जिम्मा लगाएको थियो । अहिलेसम्म कतै फेला नपरेको बताउँदै सबैतिर जानकारी गरिएको प्रहरीले बताएको छ । यदि कसैले देखे भेटेमा स्थानीय प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरी र अभिभावकले अपिल गरेका छन् ।