काठमाडौं । नेपालको अन्डर सिक्सटिन महिला फुटबल टिमले आज भुटानसँग मैत्रीपूर्ण खेल खेल्दै छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो दुई बजे सुरू हुनेछ। हिजो भएको प्रिम्याच प्रेस कन्फरेन्समा प्रशिक्षक सुलभजंग रानाले भूटानसँगको खेल युवा खेलाडीका लागि महत्त्वपूर्ण हुने बताए।
पछिल्लो समय भूटानको टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। गत कात्तिकमा काठमाडौंमा नै भएको साफ महिला च्याम्पियनसिपमा भूटानले नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो।
भूटानले पनि नेपालसँगको खेललाई लिएर उत्साहित रहेको बताएको छ। नेपालको अन्डर सिक्सटिन टोलीको कप्तानी भूमिका बुढाथोकीले गरेकी छन्।
यस्तै आइतबार नेपाल र भूटानका अन्डर नाइन्टिन टिमले प्रतिस्पर्धा गर्ने छन्। नेपालको अन्डर नाइन्टिन टोलीको कप्तानी कुशुम खतिवडाले गर्ने छिन्।