विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार विधेयक आगामी हिउँदे अधिवेशनमा पेश हुने बताउनुभएको छ । विधेयकका सबै काम सकिएको भन्दै उहाँले आगमी अधिवेशनमा पेश गर्ने जानकारी दिनुभयो ।
आज कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोशी प्रदेशका नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै उहाँले पत्रकारका हक हितको संरक्षण र पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास तथा सम्वृद्धिको लागि कृषिमा आधारित उद्योग र पर्यटन नै मुल आधार रहेको भन्दै अब सम्वृद्धिका लागि सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको भन्दै यसको लागि प्रचार प्रसार गर्न समेत आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले चिया सम्मेलन र कोशी भ्रमण वर्ष २०८२ मनाउने तयारी गरिरहेको भन्दै सहयोगका लागि समेत आग्रह गर्नुभयो ।
अहिले विरोधका लागि विरोध गर्दै बन्द हड्ताल लगायतका विरोधका कार्य नगरी पर्यटक मैत्री वातावरण बनाउन समेत आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका नवनिर्वाचित कार्यसमिति, झापा, मोरङ, सुनसरी, धनकुटा र सोलुखुम्बु जिल्लाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई संयुक्त रुपमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री कार्कीलेबधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा पत्रकार महासघ कोशी प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, गत मंसिर २८ गते सम्पन्न निर्वाचनवाट निर्वाचित अध्यक्ष भरत खड्का र पत्रकार महासंघ मोरङ्ग अध्यक्ष सुशीला पाठक लगायतले बोल्नुभएको थियोे ।