झापा । मोरङको सुनबर्षीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति ८:२० बजे सुनबर्षी–५ भेरुवाथानस्थित हुलाकी सडकखण्ड हुँदै बेलडाँगीतर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रकले रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको को ४ प १८२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–९ बालुबारी बस्ने २६ वर्षीय सुबचन ऋषिदेव गम्भीर घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष खड्काको नेतृत्वको टोलीले घाइतेलाई उपचारको लागि रंगेली अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पताल राखिएको र ट्रक चालक जहदा गाउँपालिका–४ रामचोक बस्ने २९ वर्षीय सुधिर महतोलाई इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।