अर्जुनधारा । प्रकृतिको सम्मानका रूपमा किरात समुदायले मनाउने उधौली पर्वको अवसरमा झापाको अर्जुनधारामा चासोक तङनाम भव्यरुपले मनाइएको छ ।
अर्जुनधारा-१ स्थित मदनपुर खेलमैदानमा किरात समुदायले संयुक्तरुपमा चासोक तङनाम मनाइएको हो । अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाइने गरिएको छ ।
प्रकृतिपूजक किरात समुदायअन्तर्गत राई जातिको उधौली पर्व, लिम्बू जातिको चासोक तङनाम, याक्खा जातिको चासुवा र सुनुवार जातिको फोल स्यादरलाई साझा चाडपर्वको रुपमा प्रवद्र्धन एवम् संरक्षण गर्ने उद्देश्यले चासोक तङनाम (उधौली पर्व) व्यवस्थापन समिति अर्जुनधाराद्वारा मनाइएको हो । समितिका अध्यक्ष राजेश जवेगु लिम्बूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले यसपटक तोङबाको प्रतिमाको उद्घाटन गरे । गतवर्ष यसै स्थानमा सिलाम साक्मा स्तम्भको स्थापना गरिएको थियो ।
कार्यक्रममा मौलिक खेल पक्लुङ लेप्मा (छेलो हान्ने) र सिकी उङमा (डोरी तान्ने) खेल सञ्चालन गरिएको थियो । सोही कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
त्यसैगरी किरात समुदायको मौलिक परिकार, पाहुनाका लागि बनाइएको बाँस, पराल र सेउलीको प्रयोग गरी बनाइएको डेरा, अनुमानित २० फिटको ताेङबाकाे प्रतिमालगायत कार्यक्रमको थप आकर्षण रहेको थियो ।
समितिका सचिव खगेन्द्र लिङदेनका अनुसार तीन दिवसीय कार्यक्रमको पहिलो दिन भेट्रान्स फुटबल, दोस्रो दिन टाङटिङ नदी किनारमा सेवासाँवा (पुजारी)बाट पूजाअर्चनासहित गालीश्राप तथा साकमुरा बहन्ती सेवा गरिएको थियो ।