बिर्तामोड । झापा बिर्तामोडको सहारा नेपाल साकोसका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरी राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा चयन भएका छन् । सहारा नेपाल देशकै सबैभन्दा ठुलो सहकारी संस्था हो ।
नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी राष्ट्रिय सहकारी बैंकको अध्यक्ष परिवर्तन गरिदिएको हो । अध्यक्षको उम्मेदवार नै बन्न नपाउनेमा फर्जी कागज पेस गरेर बैंकको नेतृत्वमा पुगेका केबी उप्रेतीलाई राष्ट्र बैंकले हटाएको हो ।
‘राष्ट्र बैंकले उप्रेतीलाई हटाएर सञ्चालक समितिका सदस्य मध्येबाट योग्यता पुग्ने व्यक्तिलाई अध्यक्ष बनाउन निर्देशन दिएको थियो । त्यहीअनुसार गिरीलाई सञ्चालक समितिले अध्यक्ष चयन गरेको छ । साधारणसभाले त्यसलाई अनुमोदन गर्नेछ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
उप्रेती पछिल्लोपटक १६ पुस २०७९ मा सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाबाट बैंकको अध्यक्षमा निर्वाचित भएका थिए । सदस्य संस्था र संघबाट लिएको ऋण तिर्न नसकी भाखा नघाएको व्यक्ति निर्वाचनको उम्मेदवार हुन नसक्ने योग्यता तोकिएको थियो ।
राष्ट्रिय सहकारी बैंक सहकारी विभाग तथा नेपाल राष्ट्र बैंकको दोहोरो नियमनमा रहन्छ । यसले राष्ट्र बैंकबाट बैंकिङ कारोबारको इजाजत लिएकोले बैंकको वित्तीय कारोबारको अनुगमन तथा निरीक्षण नेपाल राष्ट्र बैंकले गर्दै आएको छ ।