नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज मतदान, झापामा ४ जना अध्यक्षको उम्मेद्वार

झापा । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको आज हुँदैछ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो।

मतदान आज विहान १० बजेदेखि ४ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा चिरन्जीवी खनालले जानकारी दिए। केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पुर्‍याइसकेको छ।

यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ। केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ।

प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैं छनोट गर्नेछन्। मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन्। मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ।

केन्द्रीय समितिको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि निर्मला शर्मा, देवीप्रसाद सापकोटा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्।

त्यस्तै उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ। समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्। त्यस्तै महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।

यता झापामा नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्ष पदका लागि चारजनाले उम्मेद्वारी दिएका छन् ।

अध्यक्ष पदका लागि एकराज गिरी, डिकेश लामा, राजेन्द्र गौतम र टीकाराम नेतीले उम्मेद्वारी दिएका हुन् । आज भएको मनोनयन दर्तामा दुईवटा प्यानलसंगै अन्य दुईजनाको अध्यक्षमा उम्मेद्वारी परेको हो । सत्तापक्षीय गठबन्धनका तर्फबाट एकराज गिरी र प्रतिपक्षका तर्फबाट डिकेश लामाले उम्मेद्वारी दिएका छन् । सत्तारुढ नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमालेनिकट प्रेस चौतारीको संयुक्त गठबन्धनका तर्फबाट गिरी दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेद्वार बनेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरको नेतृत्वमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज, एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठन, स्वतन्त्र पत्रकार समूहलगायतको अर्को प्यानल बनेको हो । जुन प्यानलबाट लामाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । लामा वर्तमान कार्यसमितिका सचिव हुन् । गौतम र नेतीले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको बताइएको छ ।

झापा शाखाको २० सदस्यीय कार्यसमितिका ३३ जनाले उम्मेद्वारी दिएका छन् भने १५ जना प्रदेश परिषद सदस्यका लागि १३ जनाको मात्र उम्मेद्वारी परेको छ । त्यस्तै ४ जना केन्द्रीय परिषद सदस्यका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् ।

निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको नामावली अनुसार उपाध्यक्षमा गणेशमान मुखिया र सुब्रत न्यौपाने , महिला उपाध्यक्षमा विनिशा गौतम , सुशीला संग्रौला र सुनिरा मैनाली , सचिवमा राजु पाठक र प्रदिप परियार , सहसचिवमा नरेन्द्रकुमार ढकाल र रमेश तिवारी , सहसचिव समावेशीमा चिरञ्जीवी घिमिरे र तिलक तामाङ योञ्जन तथा कोषाध्यक्षमा पुष्पलाल खड्का , शम्भुजीत दाहाल र मुक्तिनाथ पौडेलले उम्मेद्वारी दिएका छन् । १५ जना प्रदेश परिषद सदस्यका लागि १३ जनाले मात्र उम्मेद्वारी दिएकोमा सबैजना निर्विरोध भएका छन् ।

पर्सी मंसिर २८ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता भएको हो । पत्रकार महासंघको बिर्तामोडस्थित कार्यालयमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । पत्रकार महासंघ झापा शाखामा २२० जना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
149
सम्बन्धित

लोकप्रिय

लोकप्रिय