अर्जुनधारा । अटिजमको समस्याका कारण घरमा साङ्लोले बाँधेर राखिएका झापा अर्जुनधाराका १४ वर्षीय एक बालकलाई उद्दार गरी उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पताल लगिएको छ ।
पाँच वर्षको हुँदा बुबाआमा सम्पर्कमा नरहेका अर्जुनधारा-४ का १४ वर्षीय आदित्य दाहाल ८४ वर्षीया हजुरआमाको साथमा रहँदै आएका थिए । उनलाई घरमा साँग्लोले बाँधेर राख्नुपर्ने बाध्यता थियो ।
उनको उपचारका लागि अर्जुनधारा ५ का कौशल भण्डारीले चिकित्सकहरुसँग परामर्श गर्दै जाँदा डा. गोपाल सेढाइँले उनको उपचार कान्ति बाल अस्पतालमा सम्भव रहेको बताएसँगै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मामार्फत स्वास्थ्य मन्त्री प्रदिप पौडेलको पहलमा काठमाडौँ लगिएको बताइएको छ ।
आवश्यक उपचारको अभावमा आदित्य जन्मदै अटिजमको लक्षण भएका थिए । उनी जन्मिएपछि उनका आमाबाउ पनि पाँच महिनाको उमेरदेखि सम्पर्कबिहीन भएपछि घरमा ८४ वर्षीया हजुरआमाका साथमा उनलाई साङ्लोले बाँधेर खोरभित्र राखिएको थियो ।
उनलाई यसअघि पनि बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाइँले उपचार गर्न लगेका थिए । तर, उनको उपचार त्यहाँ राम्रो नभएपछि उनलाई फेरि खोरमा नै बाँधेर राख्नुपर्ने अवस्था आएको थियो ।