काठमाडौं । विराटनगर किंग्सलाई ७ रनले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो जित दर्ज गरेको छ । जितको लागि १३४ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रनमा समेटियो ।
मार्टिन गप्टिल ४ रन, लोकेश बम १९ रन र अकिब इलियास ८ रनमा पबिलियन फर्किए । लगतै नरेन भट्ट ७ रनमा बसिर अहमद ८ रनमा आउट भए । यसपछि छैटौं विकेटको लागि निकोलस क्रिटोन र दीपक बोहराले ४४ रनको साझेदारी गर्दै टिमको स्कोर १०४ पुर्याए ।
दीपक बोहराले १३ बलमा १८ रनमा आउट भए । लगतै क्रिटोन नन्दन यादवको बलमा आउट भए । उनले ४० रन बनाए । यसपछि सोमपाल कामीले क्रिस सोललाई आउट गरेपछि विराटनगर दबाबमा आयो । अन्तिम ओभरमा १५ रन चाहिँदा नन्दव यादवले कसिलो बलिङ गरे । विराटनगरले अन्तिम ओभरमा ७ रन मात्र बनाउँदा कर्णालीले कठिन जित निकाल्यो । बलिङमा नन्दव यादवले ३ र विपिन शर्माले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्स २० ओभरमा १३३ रन बनाउँदै अलआउट भयो । कर्णालीले ९ रन जोड्दा २ विकेट गुमाउँदा राम्रो शुरुवात गर्न सकेन । भारतीय स्टार शिखर धवन ५ रनमा र चाडविक वाल्टन १ रनमा आउट भए । यसपछि देव खनाल र विलियम बसिस्टोले तेस्रो विकेटकोले १०२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले ।
यो क्रममा देव खनालले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन जोडे । देव आउट भएसँगै मात्र ३ रन जोड्ने क्रममा कर्णालीले तीन विकेट गुमायो । यतिखेर ५ विकेटको नोक्शानीमा ११४ रन बनायो । छैटौं विकेटको रूपमा विलियम ६६ रन जोडेर आउट भए । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै टिमको लागि सर्वाधिक ६६ रन जोडे ।
यसपछि प्रतिश जिसीले अन्तिम ओभरमा तीन खेलाडीलाई आउट गर्दा एक खेलाडी रन आउट भए । अन्तिम ५ विकेट गुमाउँदा कर्णालीले एक रन पनि जोड्न सकेन । बलिङमा प्रतिश जिसीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । क्रिस सोल र बासिर अहमदले समान २र२ विकेट झारे । स्टार बलर सन्दीप लामिछाने विकेट विहिन बने । चौथो खेल खेलिरहेका सन्दीपले तेस्रो खेलमा एक विकेट लिएका थिए । चौथो खेलमा कर्णालीले दोस्रो जितबाट ४ अंक बनाएको छ ।
चौथो खेल खेलेको विराटनगरको यो तेस्रो हार हो ।