सुनसरी । सुनसरीका सञ्चारकर्मीहरुले धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले पत्रकारविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार दिउँसो कार्यक्रममा सहभागी हुन धरान पुगेका गृहमन्त्री लेखकलाई नेपाल पत्रकार महासंघ सुनसरीले ध्यानाकर्षण पत्र बुझाएको हो । साम्पाङले बारम्बार पत्रकार लक्षित धम्कीपूर्ण अभिव्यक्ति दिँदा काम गर्ने वातावरण नै नभएको र सञ्चारकर्मीहरु असुरक्षित भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको महासंघ सुनसरी सचिव ध्रुव ढकालले बताए ।
ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले नगरप्रमुख साम्पाङले बारम्बार पत्रकारलाई धम्काउँदासमेत प्रहरी प्रशासनबाट कुनै कदम नचालिएको भन्दै यसमा गम्भीर हुन गृहमन्त्रीलाई आग्रह गरे ।
ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले आफूपूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेकोले बताउँदै लोकतन्त्रमा प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने उल्लेख गरे । लोकतन्त्र र प्रेस एक अर्काका परिपुरक भएको जनाउँदै उनले प्रेस स्वतन्त्रता रहेपछि लोकतन्त्र जीवन्त रहने बताए । थिति र विधिविपरीत काम गर्दै आएका नगरप्रमुख साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनको कामका विषयमा समाचार लेखेका पत्रकारलाई सामाजिक सञ्जालमार्फत धम्की दिएका नगरप्रमुख साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो ।
पत्रकार महासंघ सुनसरीको भेलापछि नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला अध्यक्ष जनकऋषि राई र केन्द्रफय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । बुधबार साम्पाङले सामाजिक सञ्जालमार्फत पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई र पत्रकार दाहाललाई धम्की दिएका थिए । उनको अभिव्यक्तिले आफूहरू असुरक्षित भएको भन्दै पत्रकारहरूको सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएको अध्यक्ष राईले जानकारी दिए । उजुरीमा सामाजिक सञ्जालमा धम्कीपूर्ण ‘कमेन्ट’ गर्नेहरू लेखक राईसहित दर्जन व्यक्तिलाई तत्काल कारबाही गर्न पनि माग गरिएको छ ।
दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मौनमौजी शासन बेथितिको दलदलमा धरान’ शीर्षकको समाचार लेखेका थिए । समाचार एक अनलाइनमा मंसिर १४ गते प्रकाशित भएको थियो । सोही समाचारप्रति लक्षित गर्दै प्रमुख साम्पाङले गालीगलौज र अपशब्द प्रयोग गरी सामाजिक सञ्जालमार्फत धम्की दिएका थिए ।