काठमाडौं । धनुषामा विदेह नगरपालिका–५ मुरिबा टोलकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको बीभत्स ढंगले हत्या भएको छ । घाँटीमा धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको हो ।
उनको घरबाट करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा शिर छेदन गरिएको अवस्थामा रामपरीको शव फेला परेको प्रहरीले जनाएको छ । उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ । शरीर नग्न अवस्थामा थियो । शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत बगेको देखिएको छ । मृतक महिलाको श्रीमान् लामो समयदेखि वैदेशिक रोजगारमा छन् ।
मंगलबार अपराह्न रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकोमा अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । तर त्यसको भोलिपल्ट रामपरीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो । घटनामा संलग्न भएको आंशकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएकोमा एक जनालाई मात्र हिरासतमा राखेर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।