झापा । अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यजी महाराज र गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजलाई ज्यान मार्ने धम्की दिनेलाई सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले कारबाहीको माग गरेको छ ।
सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुलाराम बोखिम र सचिव कालीप्रसाद रिजालले एक प्रेस विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल प्रयोग गरी ज्यान मार्ने धम्की दिने जो कोहीलाई कानुनी कारबाही गर्न माग गरेका हुन् ।
उनीहरूले सताक्षीधाममा शिवमहापुराण जस्तो पवित्र धार्मिक कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कोही कसैसँग चित्त नबुझे सम्बन्धित ठाउँमा आएर वार्ताद्वारा समस्या समाधान गर्न सकिने बाटो हुँदाहुँदै सामाजिक सञ्जालमा गुरुहरूलाई अनर्गल गालीगलौज गर्नु र ज्यान मार्नेसमेतको धम्की दिनु खेदजनक भएको उल्लेख गरेका छन् ।
त्यस्तै गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले एक प्रेस विज्ञप्ति जारी गरी यज्ञका आचार्यलाई आएको धम्की, चारैतिरको दबाब र तिलककै कारण समाज विखण्डन हुन्छ भने समाज किन विखण्डन हुन दिने भन्ने धारणाले शिवलिङ्गबाट तिलक हटाएको जनाएका छन् । उनले यस कार्यबाट आफूलाई दुःख लागेको बताउँदै आगामी दिनमा हुने गौसेवा तथा हिन्दुराष्ट्र कायमको अभियानमा कसरी सहकार्य गर्ने भन्नेमा चिन्ता उत्पन्न गराएको बताएका छन् ।
सामाजिक सञ्जालमा नारायण सिग्देलले बालसन्त र नन्दकिशोरको ज्यान लिने धम्की दिएका हुन् । सताक्षीधाममा गोलोक गोवर्धन गौशालाले दशौँ वार्षिक उत्सवका अवसरमा विविध कार्यक्रम आयोजना गरिरहेको छ। सोही कार्यक्रमअन्तर्गत सवा करोड रुद्राक्षजडित ५१ फिट अग्लो शिवलिङ्गमा लगाइएको चन्दनका विषयमा विवाद भएको बताइएको छ ।