शिवसताक्षी । झापाको शिवसताक्षीमा २१ औं महिला स्वयंसेविका दिवसको अवसरमा चार जना महिलालाई सम्मान गरिएको छ । महिला स्वयसेविकाको रुपमा स्थानीय स्तरमा उल्लेखनीय योगदान र्पुयाउने महिला स्वयसेविकाहरुलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको हो ।
उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङफे र लेखा अधिकृत प्रकाश योङहाङ्गले नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् ।
नगरपालिकाले शिवसताक्षी २ की उषा खतिवडा, वडा नं. ४ की मन्दिरा भट्टराई, वडा ७ की टंकमाया श्रेष्ठ र वडा नं. ८ विन्दा पोख्रेललाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख रोसन अधिकारीले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका नगरप्रमुख मेघाहाङ थोप्राले महिला स्वयंसेविकाहरूको मेहनत र समर्पणको प्रशंसा गर्दै डाटा व्यवस्थापनमा सुधारको आवश्यकता रहेको बताए ।
कार्यक्रममा नगरप्रमुखले सीमित स्रोतसाधनका बीच महिला स्वयंसेविकाहरूले आफ्नो कार्यक्षेत्रमा उल्लेखनीय योगदान दिइरहेको स्वीकार गरे । उनले जिल्ला जनस्वास्थ्यको रिपोर्टमा नगरपालिकाको अंक कम आएकोप्रति चिन्ता व्यक्त गर्दै डाटा संकलन र व्यवस्थापन प्रक्रियालाई चुस्त बनाउन आग्रह गरे ।
उनले भने, महिला स्वयंसेविकाहरूले महत्वपूर्ण काम गर्दै आउनुभएको छ । तर, तपाईंहरूले गरेका कामको विवरण समयमा सम्बन्धित शाखाले जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाउन नसक्दा हामी अन्य पालिकाभन्दा तल परेका छौं । चालु आवमा चुस्त र दुरुस्त रुपमा टाडा संकलन गरी जिल्ला पठाउन स्वयसेविका र सम्बन्धित शाखालाई नगरप्रमुखले ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्कीले समाजसेवामा महिलाको भूमिकालाई अत्यन्त महत्वपूर्ण भन्दै स्थानीय स्तरमै नेतृत्व गर्ने महिलाहरूलाई अझ सक्रिय रूपमा सहभागी गराउन प्रेरित गरेकी थिइन् । उनले महिला स्वयमसेविकाहरुको योगदादनको कदर गर्दै स्वयसेविकाहरु सेवा निबृत्त हुँदा ३० हजार दिदै आएकोमा हाल एक लाख निर्णय भएको समेत जानकारी गराइन् ।
यसै क्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले स्वसेविकाहरुले उत्कृष्ट काम गर्न सुझाएकी थिइन् । उनले महिला स्वयसेविकाहरुको सामथ्र्य र क्षमताको प्रशंसा गर्दै नगरपालिकालाई उत्कृष्ट बनाउन विशेष योगदान दिन आग्रह गरेकी थिइन् ।
सम्मानित स्वयसेविको तर्फबाट बोल्दै मन्दिरा भट्टराईले उत्कृष्ट स्वयमसेविकाको रुपमा छनौट गरी सम्मान गरिएकोमा नगरपालिकालाई धन्यवाद दिएकी थिइन् । उनले महिला स्वयमसेविकाहरुलाई स्पष्ट कार्यदिशा सहित नगरपालिकाले कामको बाँडफाड गरी तोकी दिन आग्रह गरेकी छिन् । उनले भनिन् हाम्रो सामाथ्र्यले भ्याएसम्म काम गरेर देखाउँछौ ।
नगर उपप्रमुख नगरमाया कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नर्सिङ्ग निरिक्षक निर्मला सिग्देलले गरेकी थिइन् । शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।