बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा ’एक घर एक बत्ती अभियान’ सुरुवात भएको छ ।
जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई राति हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले ’एक घर एक बत्ती अभियान’ सुरु गरिएको हो ।
यस वडामा २४ वटा टोल रहेका छन् । यीमध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, सिरिजंघा, फक्तालुङ लगायतका टोलमा १५० भन्दा बढी सडक बत्ती जडान गरिएको वडा अध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।
उनले यो अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए । अहिले बत्ती जडान कार्य धमाधम भइरहेको र सबै ठाउँमा आवश्यकताअनुसार जडान गरिनेछ ।
नगरपालिकाको सहयोगमा वडा कार्यालयले बत्ती जडान गरेको हो । घरघरबाटै लाइन टाँगेर जडान गरिने हुँदा त्यसको महशुल व्यक्तिले नै तिर्नुपर्नेछ ।
यसो गर्दा व्यवस्थापन कार्यमा सहज हुने वडा अध्यक्ष खरेलले बताए । जडान गरिएको बत्ती बिग्रिएमा वडा कार्यालयले नै मर्मत तथा फेरबदल गर्नेछ ।
हाल टोलटोलमा पुराना जोडिएका बत्तीको मर्मत र नयाँ थप्ने काम भइरहेको छ । अहिले जडान गरिएका बत्तीहरुको खर्च प्रतिएलइडी बल्ब १५ सय देखि ३ हजार रुपैयाँसम्म रहेको वडा अध्यक्ष खरेलले जानकारी दिए ।