झापा । झापाको गौरादहमा आगलागी भएको छ । आगलागीमा परी ६ वटा चौपाया जलेर मर्नुका साथै १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
गएराति ११:४५ बजे गौरादह नगरपालिका-४ डोरामारी बस्ने खड्गबहादुर कार्कीको जस्ताको छानो, सिमेन्टको पिलर भएको एकतले ग्वालीमा अचानक आगलागी भएको हो ।
आगलागीबाट ग्वालीमा भएका खसी एउटा, माउ बाख्रा एउटा, पाठापाठी ३ वटा, गाईको बाच्छी जलेर मरेका छन् ।
त्यस्तै एउटा गाई जलेर घाइते भएको छ । ग्वालीमा रहेको को १९ प ४४९८, को १९ प ६६७८ नम्बरको मोटरसाइकल, अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी महारानीझोडाबाट खटिएका प्रहरी, गौरादह नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा एक घण्टाभित्र आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।