स्थानीय तह उपनिर्वाचनको सबै नतिजा सार्वजनिक

काठमाडौं । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो ।

अन्तिम मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ। यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ। माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ।

उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाएका छन्। कुल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो।

ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा-२ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए। आयोगका अनुसार नगरपालिकाका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष दुई, उपाध्यक्ष चार तथा वडाध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
134
सम्बन्धित

लोकप्रिय

लोकप्रिय