काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज (आइतबार) पनि सकिएन ।
शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिए पनि बयान नसकिएको हो ।
काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनको बयान अझै नसकिएकाले भोलि (सोमबार) पनि लिइने भएको छ । बयानपछि उनलाई भोलि नै पोखरा फर्काइने तयारी छ ।
स्वर्णलक्ष्मी सहकारीबाट जीबी राई र रविले लाखौँ रकम लिएको प्रमाण भेटिएको छ । बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात भेटिएका छन् ।
त्यसमा स्वर्णलक्ष्मी चार पाङ्ग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ । त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ ।
यसअघि उनका साझेदार पूर्व डीआइजी छविलाल जोशीसँग बयान लिइएको थियो ।