काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित भएको छ।
१४२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५.४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनाएको थियो।
यसअघि नेपाली टोली श्रीलंकासँग ५५ रनको हार ब्यहोरेको थियो। साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो।
अघिल्लो सिजनको फाइनलमा उसले आयोजक यूएईलाई हराएर उपाधि जितेको थियो। बंगलादेशले यो सिजनको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो।
नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। एसिया कपमा शनिबार भएको खेलमा पाकिस्तानले भारतलाई ४३ रनले हराएको थियो भने यूएईसँग जापान २७३ रनले पराजित भयो।