झापा । रिक्त बनेका स्थानीय तहको पदमा आज आइतबार उपनिर्वाचन भइरहेको छ । अहिले बिहान ७ बजेबाट उपनिर्वाचनको मतदान सुरु भएको हो ।
जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका स्थानीय तहमा पदपूर्तिका लागि आइतबार उपनिर्वाचन भइरहेको हो । एक नगरपालिका प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष तथा ३३ जना वडाध्यक्ष गरी ४१ पदका लागि उपनिर्वाचन भएकाे हाे ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३ सय ७६ जना उम्मेदवार छन् । उपनिर्वाचन हुने स्थानीय तहमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् ।
१ सय ६२ मतदानस्थलमा २ सय ९३ मतदान केन्द्र बनाइएको छ । मतदानका लागि आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ ।
मत हाल्न मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा पुग्नुपर्नेछ । मतदाता परिचयपत्र नरहे परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक परिचयपत्र, राहदानी वा स्थायी लेखा नम्बर भएको परिचयपत्रका आधारमा समेत मतदान गर्न मिल्ने आयोगले जनाएको छ ।
यता झापाको कन्काई नगरपालिका–६ मा वडाध्यक्ष पदको लागि मतदान शुरु भएको छ । अहिले बिहान ७ बजेदेखि मतदान शुरु भएको हो । मतदानस्थल तोकिएको कन्काई ६ स्थित चम्पापुर माध्यमिक विद्यालयको दुईवटा मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । कनकाई ६ मा २०५८ जना मतदाता रहेका छन् भने ९ जनाले उम्मेद्वारी दिएका छन् ।