अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले विभिन्न विधाका खेल प्रशिक्षणका निमित्त ४ जना प्रशिक्षक नियुक्त गरेको छ ।
नगरपालिकाको कार्यपालिकाले स्वीकृत गरेको नगर खेलकुद विकास समितिको कार्यबिधि अनुरुप नगरपालिकाले करारमा खेल प्रशिक्षक नियुक्ति गरेको हो ।
फुटबल प्रशिक्षक पुष्प मादेन (नानी), कराते प्रशिक्षक जीवन राई, तेक्वान्दो प्रशिक्षक बिवेक गिरी र एथलेटिक्स प्रशिक्षकको रुपमा हेमनायण चौधरीलाई नियुक्ति गरिएको अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिनुभयो ।
समितिका अध्यक्ष धिमालको अध्यक्षतामा शुक्रबार नगरपालिका आयोजीत एक कार्यक्रमकाबिच करारमा नियुक्त भएका प्रशिक्षकहरुलाई नियुक्तिपत्र (करार सम्झौता) हस्तनान्तरण गरिएको अर्जुनधारा नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङदेनले जानकारी दिनुभयो ।
प्रशिक्षहरुलाई नगर उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत, तिलोचन रिमाल, समिति अध्यक्ष सुरेन्द्र धिमाल लगायत समिति सचिव र सदस्यहरुले नियुक्तिपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उप–प्रमुख पराजुलीले विगतमा अर्जुनधाराले खेलकुद क्षेत्रमा बनाएको इतिहासलाई थप उचाईमा पुर्याउन खेल प्रशिक्षक नियुक्तिले महत्वपूर्ण टेवा पुग्ने धारणा राख्नुभएको थियो ।
अर्जुनधारा नगर खेलकुद विकास समितिले अर्जुनधाराको खेल क्षेत्रलाई थप बिस्तार र विकास गर्दै दक्ष खेलाडी उत्पादनका निमित्त खेल प्रशिक्षकहरु नियुक्ति गरिएको जनाएको छ ।