झापा । गौहत्याको घटनापछि दोषीमाथि कार्वाहीको माग गर्दै कन्काईको सुरुङ्गामा विरोध प्रदर्शन र चक्काजाम गरिएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा बाह्रदशी –४ ठेगाना भएका ४० वर्षीय बुदना आलमलगायतलाई पक्राउ गरेको छ । मुख्य आरोपी आलमसहित केहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका अन्यको बारेमा खुलाइएको छैन ।
कन्काई –३ स्थित टप्पु बस्ने पूर्णप्रसाद फुँयालको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको पहिलो बेते लैनो गाई चोरी गरी काटेका थिए । स्थानीय लीला संग्रौलाको घरमा डेरा लिएर ज्याला मजदुरी गर्ने मुस्लिम समुदायका ब्यक्तिहरुले सो गाई चोरी गरी काटेका थिए । गाईधनी सिलवालले दूध दुहुन जाँदा गाई नदेखेपछि चोरी भएको भनी इलाका प्रहरी कार्यालय, सुरुङ्गामा जानकारी गराएका थिए ।
उता आज दिउँसो १ बजेतिर संग्रौलाको घरभित्र उक्त हराएको गाई काटिरहेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
यसैबीच सो घटनाको विरोधमा आज दिउँसो ४ः२० बजेदेखि संग्रौलाको घर अगाडी गौं बंश संरक्षणका केन्द्रीय अध्यक्ष एवं गोलोक गोवर्धन गौशाला सताक्षीधामका संरक्षक नन्दकिशोर भारद्वाज महाराजको नेतृत्वमा अर्जुनधारा जलेश्वरधामबाट आएका ३०÷३५ जना धर्मगुरु, स्थानीय करिब २५० जनाको संख्यामा भेला जम्मा भई ‘गौं हत्या बन्द गर, हत्यारालाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर, नेपाल सरकार मुर्दावाद , कार्बाही गर’ जस्ता नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।
मृत गाईलाई साँझ ५ः२० बजे घटनास्थलबाट गाडीमा राखेर सुरुङ्गा चोकस्थित पूर्व पश्चिम राजमार्गमा ल्याई उनीहरुले चक्काजाम गरेका थिए । उक्त चक्काजाम साँझ ६ः१० बजे खुलेको छ भने प्रदर्शनकारीहरुले उक्त मृत गाईलाई कन्काई नदीमा लगेर अन्त्येष्टि गरिरहेका छन् ।
त्यस्तै साँझ ६ः३० बजेदेखि कन्काई –४ कोटीहोमस्थित कन्काई पुलनजिक पूर्वपश्चिम राजमार्गमा मृत गाई राखेको गाडीलाई सडकमा तेर्साएर पुनः चक्काजाम गरिरहेको जनाइएको छ ।