मेचीनगरमा सुरु भयो “लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान”

मेचीनगर । नेपालको पूर्वी सिमावर्ती शहर काँकरभिट्टाबाट “लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान” सुरु भएको छ । मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा आज पूर्वी नाका स्थित काँकरभिट्टाबाट लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको हो ।

प्रत्येक बर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बर २०२४ सम्म विश्वमा नै “लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान” मनाइदै आइएको छ । यहि क्रममा नेपालमा पनि यसबर्ष २०८१ साल मङ्सिर १० गतेदेखि २५ गतेसम्म विविध कार्यक्रम गरि भव्यरुपमा मनाईदैछ । यहि क्रममा नेपालको पूर्वी सिमावर्ती शहर काँकरभिट्टाबाट आज मेचीनगरले उक्त अभियान सुरु गर्दै प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।

“हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नारासहित ईलाका प्रहरी कार्यालय काँकरभिट्टा परपसरबाट “घरैबाट सुरू गरौं महिला हिंसा अन्त्य गरौँ”, “बाल बिवाह रोकौं सभ्य समाजको निर्माण गरौं”, “लैगिक हिंसा बिरूद्ध ऐक्यबद्धता सम्मान समानता र न्यायको यात्रा”, “बालबालिकालाई शिक्षामा जोड दिऊँ”, “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकाशका लागि लैङ्गिक हिंसा रहित समाज”, “हिंसामुक्त समाज हाम्रो प्रतिवद्धता, हाम्रो समाज” लगायतका नारा लेखिएका प्लेकार्ड र व्यानरसहित विहान शुरू भएको र्यालीले बाहुनडाँगी रोड, पुरानो सुपारी लाईन, गुरास पथ, वडा कार्यालय रोड, बसपार्क, मुख्य राजमार्गलगायत काँकरभिट्टा बजारको मुख्यः मुख्यः स्थानको परिक्रमा गरि कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी राधा प्रधानले जबसम्म महिला र पुरुषमा कामको समान बाडफाड गरिदैंन तबसम्म समाजमा महिला हिंसा अन्त्य नहुने बताइन् । महिला हिंसा विश्वमा नै डरलाग्दो रहेको बताउँदै उनले समाजमा जरैबाट लैङ्गिक हिंसा उल्मुनन् गर्न सर्वप्रथम महिला र पुरुषलाई समान दृष्टिकोणले हेर्नुपर्ने बताईन् । त्यस्तै ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले समाजमा घट्ने जुनसुकै हिंसा भएपनि त्यसलाई कानुनले नछाड्ने बताए । उनले कानुनभन्दा माथी कोहिपनि नरहेको भन्दै समृद्ध र शान्त समाज निर्माण गर्न सबै मिलेर अगि बढ्नुपर्ने उनको भनाइ छ ।

सन् १९९९ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरूद्धको दिवसका रूपमा मनाउन राखेको प्रस्तावलाई राष्ट्र संघले स्वीकार गर्दैँ डिसेम्बर १७ मा पारित भएकोे थियो । नेपालमा २०५४ सालदेखि लैङ्गिक हिंसाविरूद्ध विविध सचेतनामूलक कार्यक्रम गरि अभियान मनाउन शुरू गरिएको छ । नेपालसहित भारत, श्रीलंका जापानलगायत विश्वका ८० वटा भन्दा बढी मुलुकमा घरेलु हिंसा विरूद्धको छुट्टै विशेष कानून बनेको छ । तर, नेपालमा कानून बने पनि मजवुतरूपमा कार्यान्वयन नहुँदा यस्ता घटनामा रोकिन नसकिरहेको अवस्था छ । यधपी स्थानीय सरकारको हैसियतले आफुहरुले लैंगिक हिंसा बिरुद्ध बर्षैभरी थुप्रै कार्यक्रमहरु अगाडी बढाइरहेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् ।

महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले सहजीकरण गरेको कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, महिला अधिकारका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, नेपाली सेना, नपाल स्काउट, एनसीसी दल, सञ्चारकर्मी , रेडक्रस, राजनीतिक दलका प्रमुख प्रतिनिधिलगायत ठुलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रममा महिलामाथि हुने सवै खाले हिंसा रोक्न प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय