काठमाडौँ । पछिल्लो समय नयाँ ठाउँ वा यात्रा गर्ने बाटो थाहा नपाएको अवस्थामा गुगल म्याप प्रयोग गरेर यात्रा गर्ने चलन बढेको छ।
तर भारतमा गुगलम्यापको प्रयोग गरेर यात्रा गर्दा तीन जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा रहेको रामगंगा नदीमा पुलबाट कार खस्दा तीन जनाको मृत्यु भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कार शनिबार राती खलपुर–दातागञ्ज सडकमा बरेलीबाट बदाऔँ जिल्लाको दातागञ्जतर्फ जाँदै गरेको थियो।
उनीहरु जीपीएसको प्रयोग गरेर यात्रा गर्दै थिए। इलाका अधिकृत आशुतोष शिवमका अनुसार यस वर्षको बाढीले पुलको आधा भाग बगाएको थियो तर जीपीएसमा खसेको भागको परिवर्तन अद्यावधिक गरिएको थिएन।
कार द्रुत तीव्र गति भएकाले चालकले कारलाई रोक्न नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तीव्र गतिमा रहेको कार पुलबाट २५ फिट तल नदीमा बजारिँदा चालकसहित सबै तीनजनाको घटनास्थलमै मृत्यु भएको हो।