झापा । झापाको कचनकवलबाट सशस्त्र प्रहरीले १२ लाख बढीको लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म घेराबारीका डीएसपी दिनेश कटुवालको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा शुक्रबार बिहान साढे ८ बजे कचनकवल गाउँपालिका–६ स्थित जाम खातुनको घरमा लुकाइछिपाई राखेको ६ बोरा लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका डीएसपी मदनकुमार रसाइलीले जानकारी दिए ।
भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको सो सामानको मुल्य १२ लाख २० हजार ६ सय तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको डीएसपी रसाइलीले बताए ।
त्यस्तै मेचीनगर नगरपालिका–६ स्थित सुँगुर ठ्याक बस्तीबाट सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको मोबाइल गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको १५ बोरा सुपारी र विभिन्न जातका फुलको बिरुवा बरामद गरेको थियो ।
अन्दाजी १ लाख ८० हजारको सुपारी र ५७ हजारको बिरुवा बरामद गरेको जनाइएको छ । बरामद गरिएको बिरुवा नष्ट गरिएको छ, भने सुपारी मेची भन्सार बुझाएको जनाइएको छ ।