काठमाडौँ । कर्नाटकविरुद्ध तेस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल विजयी भएको छ। आज (आइतवा) भएको खेलमा घरेलु टोलीले कर्नाटकलाई १२१ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
जितका लागि २८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४० ओभर २ बलमा अल आउट हुँदै १६१ रनमात्र जोड्न सक्यो र ठूलो अन्तरले हार्न पुग्यो। उसका लागि गगन रावले सर्वाधिक ४६ रनको योगदान गरे। कर्नाटकका प्रतीकले २३ रन स्कोर गरे।
नेपालका लागि नरेन साउदले ४ विकेट र युवराज खत्रीले ३ विकेट लिए। त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो। नेपालका तीनजना खेलाडीले अर्धशतक प्रहार गरे।
ब्याटर रोशन विकले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८१ रनको योगदान गरे। यसका लागि उनले ५७ बलको सामना गरी ३ छक्का र ६ चौका प्रहार गरे। उनी नै म्यान अफ द म्याच भए।
यसैगरी नेपालको ठूलो स्कोरमा मयन यादवले ५० तथा उत्तम थापा मगरले ५२ रनको योगदान गरे। बलिङतर्फ कर्नाटकका लोहिथ र वासुले २र२ विकेट लिँदा इसा पुथिगे र प्रणव अश्वथले १र१ विकेट हात पारे।
आजको खेलमा जितसँगै ५ खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ। पहिलो खेलमा नेपाल एक विकेटले पराजित भएको थियो भने दोस्रो खेल ७ विकेटले जितेको थियो।