झापा । पूर्वी नाका काँकडभिट्टाबाट भन्सार छलेर भित्राइएको लत्ताकपडा बरामदको क्रममा बिर्तामोड–५ स्थित महानन्द चोकमा शनिबार दिउँसो सशस्त्र प्रहरी र केही महिलाबीच तनावको अवस्था बनेको थियो ।
सामान बरामदको क्रममा उक्त स्थानमा स्थानीय र महिलाहरु सशस्त्र प्रहरीमाथि खनिएका थिए । सशस्त्र प्रहरीले अवैध रुपमा कपडा आयात भएको सूचनापछि उनीहरुलाई पछ्याएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका सूचना अधिकारी तथा डीएसपी मदनकुमार रसाईलीले त्यहाँबाट अवैध कपडा बरामद गरिएको जानकारी दिएका छन् ।
महानन्द चोकमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश शनिश्चरेका डीएसपी दिव्यराज कोइरालाको कमाण्डमा १२ जनाको चेकप्वाईन्ट टोलीले काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेका बिभिन्न सवारी साधनहरु चेक जाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको २ लाख ५० हजार बराबरको ७ बोरा बिभिन्न किसिमका लत्ता कपडा बरामद गरेको हो।
उक्त बरामत भएका कपडा भन्सार बुझाउने तयारी भईरहेको गणका डीएसपी रसाईलीले जानकारी दिए । अवैध कपडा नियन्त्रणमा लिने क्रममा केहीबेर तनावको अवस्था बनेको थियो । सो कपडा लगायत अन्य सरसामानहरू मेचीनगरको पुरानो मेची पुल र पुलको दायाँबायाँबाट महिला पोका कारोबारीले नाकामै तैनाथ सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलेमतोमा भित्र्याउँदै आइरहेको छ ।