बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–५ नगराउँमा जिप दुर्घटना हुुदा दुई जनाको मृत्यु भएको छ । राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन मन्दिरको जात्राका लागि बिहीबार साँझ घरदेखि दार्चुलाको मालिकार्जुन गएका ५० बर्षीय विरेन्द्र बोहरा र उनका १७ बर्षीय भतिजा अस्मित बोहराको निधन भएको हो ।
शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ बजानीमा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जना मध्ये दुई जना बैतडीको डिलाशैनीका रहेका छन् । डिलाशैनीको नगराउँका विरेन्द्र बोहरा र अस्मित बोहरा जिप दुर्घटना परेर अस्ताएपछि अहिले गाउँ पूरै शोकमा डुबेको डिलाशैनी गाउँपालिका वडा नं –५ का वडा अध्यक्ष यज्ञराज भट्टले बताए ।
यसैबर्ष एसइइ उत्तीर्ण गरेका अस्मित घरका एक्ला छोरा हुन् । उनको घरमा आमा–बुवा र चार दिदी छन् । चार दिदी र आमाबुवाको मायामा हुर्केका अस्मित कलिलो उमरमै अस्ताएपछि घरपरिवारलाई सम्हालिन गाह्रो भएको वडा अध्यक्ष भट्टले बताए । उनले भने ‘गाउँमा सन्नटा छाएको छ । चाडपर्वको समयमा भएको दुखद घटनाले सबैलाई रुवाएको छ ।’ दुर्घटना भएको समयदेखि गाउँ रोएको वडा अध्यक्ष भट्टले बताए ।
घरको एक्लो छोरा गुमाएपछि अस्मितका आमा–बुवा होसमा छैनन् । दुर्घटनामा ज्यान गुमाएका विरेन्द्र बोहरा घरका मुख्य मान्छे हुन् । घरको कमाउने मानिस नै ढलेपछि उनको परिवार पनि विचल्लीमा परेको छ । मृतक बोहराका घरमा बुढेसकालकी आमा, श्रीमति र दुई छोराहरु रहेका छन् । मृतकहरुको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । पोष्टमार्टम पछि दाहसंस्कार गरिने वडा अध्यक्ष भट्टले बताए ।