कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा आफूलाई पत्यक्षदर्शी दाबी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।
प्राइम टाइम टेलिभिजनमा ऋषि धमलासँग अन्तर्वार्ता दिँदै उनले निर्मला पन्त बलात्कार घटनाको आफू प्रत्यक्षदर्शी रहेको र सुरक्षाको ग्यारेन्टी दिए पीडकहरूको नामसमेत बताइदिने दाबी गरेका थिए ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो ।
थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता धमलालाई पनि सोधपुछ गरिरहेको सीआईबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुटा हुन्’, उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सीआईबीमा ल्याएका छौँ ।’
आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले कञ्चनपुर पुगेका बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको दाबी अन्तर्वार्तामा गरेका छन् ।