झापा । करिव एक साताअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका झापा हल्दिबारी गाउँपालिका वडा न.२ बस्ने अन्दाजी २१ वर्षीय सुमन मर्डीको गएराति मृत्यु भएको छ ।
गत कात्तिक १८ गते साँझ ७:१५ बजे भद्रपुर नगरपालिका वडा न. १० त्रिवेणी टोलमा धनुषमोडबाट केन्द्रमोडतर्फ आउँदै गरेको मे ६ प ३०७७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक मर्डी घाइते भएका थिए ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । घाइतेको अवस्था गम्भीर हुँदै गएपछि सोही दिन राति ९ः३० बजे बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । त्यहाँबाट कात्तिक २३ गते थप उपचारको लागि आफन्तले भारततर्फ लिएर गएका थिए ।
उपचार सम्भव नभएको भनी घरमा ल्याइ राखेकोमा कात्तिक २५ गते न्युरो अस्पताल बिराटनगर लगेर सामान्य उपचारपश्चात पुनः घरैमा ल्याएका थिए ।
गएराति १२:३० बजे उनको घरैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।