अर्जुनधारा । खुदुनाबारी गोल्डकपको चौथो संस्करण आजबाट सुरु हुँदै छ । अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको रुपमा संचालनहुने गोल्ड कपको पहिलो खेलमा आज अर्जुनधारा र बिर्तामोड नगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने छ । नगरपालिकाको टिमले ३ जना नगरभन्दा बाहिरका जुनसुकै नेपाली खेलाडीलाई मैदान प्रवेश गराउन पाउने आयोजकले बताएको छ ।
“हाम्रो अभियान, हाम्रो शान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाको संयुक्त आयोजनामा गोल्ड कप संचालन हुने भएको हो ।
प्रतियोगितामा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिबसताक्षी, गौरादह, दमक नगरपालिका र इलामको माई नगरपालिकाको एक टिमसहित आयोजकको एक टिम गरेर १० टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक अर्जुनधारा– ३ का वडाअध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभयो ।
अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा खेल हुने प्रतियोगिताको बिजेताले १ लाख ११ हजार २११ र उपविजेताले ५५ हजार ६५५ रुपैयाँ नगद पुरस्कार, ट्रफी तथा मेडल पाउने छन् । प्रतियोगितामा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । फाइनलका बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैया पुरस्कार पाउने आयोजकले बताएको छ ।
अर्जुनधारा नगरपालिका १, २ र ३ स्थित साबिक खुदुनाबारी गाविसको पहिचानलाई कायमै राख्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक भट्टराईले बताउनुभयो । गोल्ड कपको उद्घाटन समारोह दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ ।
कैदले प्राकृतिक रङशालाको स्तर उन्नती, युवा पुस्ताहरुलाई खेलक्षेत्रमा प्रोत्साहन दिई व्यवसायिक खेलाडीको रुपमा उत्पादन गर्ने, नगरपालिका नगरपालिका बिचको भाइचारा सम्बन्ध बढाउने र कैदेले पर्यापर्यटन क्षेत्रको दिगो बिकासको लागि बढावा दिने, राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद नाराका साथ खुदुनाबारी गोल्डकपलाई निरन्तरता दिदै सभ्य र स्वास्थ्य समाज निर्माण गर्ने लगायतका उदेश्यहरु राखेर प्रतियोगिताका आयोजना गरिएको आयोजकको भनाई छ ।