आलोचनापछि प्रकाश सपुतले मागे माफी

काठमाडौं । पूर्णबहादुरको सारङ्गी चलचित्रले यतिबेला बक्स अफिसमा धमाका मच्चाइरहेको छ । चलचित्रले एकपछि अर्को रेकर्ड तोडिरहेको छ । यसैबिच चलचित्रमा अभिनय गरेका प्रकाश सपुत भने दर्शकको आलोचनाको केन्द्रमा रहेका छन् । चलचित्र रिलिज हुनुअघि निर्माण पक्ष र सपुतबिचको विवाद छताछुल्ल भएको थियो ।

विवादकै कारण सपुत चलचित्रको प्रचारमा सहभागी भएनन् । दुई दिनअघि भने सपुतले चलचित्रको अंश हुन पाएको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए । जसमा धेरैले उनको आलोचना गरेका छन् ।

आलोचनापछि सपुतले माफी माग्दै नयाँ पोस्ट गरेका छन् । उनले यस विषयमा प्रस्ट पार्दै सम्झौता अनुसार नभएपछि केही समय आफ्नो अडान लिएको स्वीकार गरेका छन् । ‘तर कहिलेकाहीँ स्वाभिमानी भन्दा बढी व्यवहारिक भएर सोच्न पर्ने रैछ,’ उनले लेखेका छन्, ‘१२ वर्षको कलाकारितामा मेरो व्यक्तिगत कर्म अलि अपजसी र अभागी भए पनि मेरो पेसागत कर्मलाई तपाईँहरूले भाग्यमानी प्रमाणित गरिदिनु भएको छ ।’

यस्तो छ उनको भनाई
नमस्कार सबैमा
ए, म त हेर्नै भ्याएको थिएन । धेरैले गाली र गुनासो गर्नु भएको पो रहेछ । पहिला सहयोग गरेन भनेर । म त काम गर्ने मान्छे हु । चलचित्र रिलिज हुँदाको दिनमा पनि काम मै थिए है । मैले आफ्नो धर्म छोडेको छैन ।

एउटा स्वाभिमान सबैमा हुन पर्छ । त्यो म मा पनि छ । तपाईँहरूमा पनि होला । सम्झौता अनुसार नभएपछि मैले केही समय आफ्नो अडान लिएकै हो तर कहिलेकाहीँ स्वाभिमानी भन्दा बढी व्यवहारिक भएर सोच्न पर्ने रैछ ।

मैले त्यही सोचे र रिलिजको लागि मनै देखि लागी परे । त्यो कुरा यस चलचित्रका निर्माता, निर्देशक र सबै टिमलाई थाहा छ । कुनै दिन मौका मिलेछ भने तपाईँहरूलाई पनि सेयर गरौला । अहिलेलाई चलचित्रको सफलता नै सेयर गरौँ है । तपाईँहरूलाई फिल्म हेरे पछि खतरा लाग्यो, मेरो प्रोफाइल चेक गर्नु त मलाई त त्यति खेरै खतरा लागेर सुटिङ सकेकै दिन सेयर गरेको थिए, “पूर्ण बहादुरको सारङ्गी जस्तो कथा बनिरहुन्, मौलिक सारङ्गीको धुन गुन्जिरहुन् र त्यसमा म जोडिन पाइराखौँ ।”

ठिक छ, १२ वर्षको कलाकारितामा मेरो व्यक्तिगत कर्म अलि अपजसी र अभागी भए पनि मेरो पेसागत कर्मलाई तपाईँहरूले भाग्यमानी प्रमाणित गरिदिनु भएको छ । हेर्नु त परदेशी २ बाट पोहोर त हो नि फिल्म मा आको , यो वर्ष नै ब्लकबस्टर फिल्म खेल्न पाए । उम्दा अभिनेता विजय बराल, मुकुन भुसाल जस्ता कलाकारसँग स्क्रिन सेयर गर्न पाए । आफ्नै निर्देशनमा “वसन्त” बनाउने आट गरेको छु । अर्को चलचित्र आदरणीय हरिवंश आचार्यसँग गर्दै छु । कस्तो लक्की हैन त। हुन त लाइफमा दुः ख पनि गरेको छु है फेरि १ जे होस म सधैँ ऋणि छु तपाईँहरू प्रति ।

जानी नजानी मन दुखाएको मा माफी चाहन्छु । कमजोरीहरू सुधार्दै जाउला । अब त उमेरले पनि अलि पाको हुँदै गइयो सस्तो चर्चा, परिचर्चा, सफलता, व्यस्तता भन्दा पनि एउटा राम्रो विचार र व्यवहार सहितको व्यक्ति बन्न चाहन्छु । यसरी खबरदारी चाहिँ गर्दै गर्नुस् तर राम्रो ऊर्जा पनि दिनुस् न है । ।

म कला मार्फत थुप्रै कुरा भन्न सक्छु , समाजलाई सुसूचित र राज्यलाई प्रश्न गर्न सक्छु । तपाईँहरूलाई निरन्तर मनोरञ्जन गर्न सक्छु १ यति आत्मविश्वास छ । मलाई थप निरुत्साहित नगर्नुस् है । मलाई अलि पर सम्म पुग्नु छ, केही समय नरोक्नुस् है ! प्लिज 

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
1
+1
1
+1
0
772
सम्बन्धित

लोकप्रिय

लोकप्रिय