बिर्तामोडको अधुवा खोलामा तटबन्धसहित छठ पूजास्थल निर्माण हुने

झापा । विगत ६ दशक बढीको इतिहास बोकेको बिर्तामोड–३ बिर्ताबजारस्थित अधुवा खोलामा अब स्थायी रुपमा छठ पूजा गरिने भएको छ । २०७१ सालदेखि स्थगित भएर नेपाल मधेसी समाज सेवा समितिले गत वर्षदेखि छठ पूजा शुरुवात गरेको अधुवा खोलामा कोशी प्रदेश सरकारले छठ पूजाका लागि तटबन्धसहित पूजास्थल निर्माण गरिदिने भएको हो ।

कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको पहलमा बिर्ताबजारस्थित अधुवा खोलामा तटबन्ध र स्ल्यावसहित पूजास्थल निर्माण गरिने भएको हो । जसको लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

विगतमा प्रदूषणमुक्त रहेको ऐतिहासिक अधुवा खोलालाई दुर्गन्धित बनाउँदै लगेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री कार्कीले अब अधुवा खोलाको सौन्दर्यकरणमा स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिए । गत वर्ष अधुवा कोरिडोरका लागि बजेट छुट्टिएर काम शुरु भएकोमा जग्गा विवादका कारण काम रोकिएको बताउँदै मन्त्री कार्कीले त्यसलाई पुरा गरिनुपर्ने आबश्यकता औल्याए ।

नेपाल मधेसी समाज सेवा समितिद्वारा हिजो साँझ आयोजित छठ पूजा समारोह तथा सांस्कृतिक कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री कार्कीले अर्को वर्ष पक्की बनेपछि ब्रतालुहरुले बालुवा थुपारेर पूजास्थल निर्माण गर्न नपर्ने बताए ।

नेपाल मधेसी समाज सेवा समितिले अधुवा खोलामा गत वर्षदेखि छठ पूजा शुरु गरेको हो । यस वर्ष भव्य रुपमा छठ पूजा आयोजना गरिएको थियो । पचास हजारभन्दा बढी बत्तीको झिलिमिली पूजाको मुख्य आकर्षण रहेको थियो । जसका कारण यस वर्ष अरु ठाउँभन्दा बिर्ताबजारको छठ पूजाको चर्चा चलेको थियो । पूजामा ब्रतालु र दर्शक गरी हजारौको सहभागिता रहेको आयोजकले जनाएको छ ।

गत वर्षभन्दा यस वर्ष धेरैको सहभागिता रहेको बताउँदै आयोजक संस्थाका अध्यक्ष रामेश्वर मण्डलले आगामी वर्ष अझ उत्कृष्ट गर्ने जानकारी दिए । उनले विगत ६ दशकदेखिको पुरानो ऐतिहासिक ठाउँलाई पुनस्र्थापित गर्न आफूहरु लागिपरेको बताए । अधुवा खोलालाई छोडेर बिरिङ गएकाहरुलाई फर्काउने आफूहरुको योजना रहेको उनको भनाई छ ।

खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री कार्कीको प्रमुख आतिथ्य एवं आयोजक संस्थाका अध्यक्ष मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाली कांग्रेस बिर्तामोडका नगर सभापति भोजराज सिटौला, नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुवास भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष रन्जु प्याकुरेल, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नेपाल मुस्लिम संगठनका केन्द्रीय सचिव अफ्रोज खानलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक संजय शर्माले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन सन्तोष दास र शिला शाहले गरेका थिए । कार्यक्रममा अनुराधा राजवंशी, रोशन अधिकारीलगायत राष्ट्रिय तथा स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
292
सम्बन्धित

लोकप्रिय

लोकप्रिय