तिहारमा दुर्घटनामा परि झापामा ४ जनाको मृत्यु ,५२ घाइते

झापा । तिहारको पाँच दिनको अवधिमा झापामा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । कात्तिक १५ गते लक्ष्मी पूजाको दिनदेखि हिजो सोमवारसम्म पाँच दिनमा ३१ वटा दुर्घटना भएका थिए । जसमा चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार बिहान अन्दाजी ११ बजेको समयमा कन्काई– ५ चप्रामारीस्थित भित्री कच्ची सडकखण्डमा मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेका सोही ठाउँ बस्ने बिनोद पाठकका ७ वर्षीय छोरा सोहन पाठकलाई ठक्कर दिएको थियो । घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । त्यस्तै कात्तिक १६ गते साँझ ६:१० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– ११ कृष्ण मन्दिरनजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्र १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री शिवसताक्षी–८ बस्ने अन्दाजी ६१ वर्षीय गणेश खड्कालाई ठक्कर दिएको थियो । घाइतेको बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा सोमबार बिहान अन्दाजी ५बजे मृत्यु भएको थियो ।

त्यस्तै कात्तिक १६ गतेका दिन साँझ ६:३० बजे झापा गाउँपालिका वडा नम्बर ६ किरात चौकस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको पनि सोमबार बिहान मृत्यु भएको थियो । सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ७ प ५७५९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ४० वर्षीय कमनसिंह लिङ्खा र उनका ७ वर्षीय छोरा अस्मिन लिङ्खालाई ठक्कर दिएको थियो । दुबै जना घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । घाइते बालक अस्मिनको उपचारका क्रममा हिजो बिहान ५ः१० बजे मृत्यु भएको सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए ।

त्यस्तै कात्तिक १६ गते अर्जुनधारा नगरपालिका वडा नम्बर ६ दासपुलस्थित शनिश्चरे–बिर्तामोड सडकखण्डमा मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु भएको थियो । दिउँसो अन्दाजी ४बजे शनिश्चरेबाट बिर्तामोडतर्फ तीब्र गतिमा आउँदै गरेको बा ४९ प २१५९ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँया साईडमा रुखमा ठोक्किएको थियोे । दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाउँपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको थियो ।

मृत्यु हुने चार जनामध्ये तीन जनाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो । त्यस्तै तिहारमा ७ जना गंभीर र ४५ जना सामान्य गरी ५२ जना घाइते भएका छन् । तिहारमा ट्राफिक प्रहरीले ६६४ वटा सवारी साधनमाथि कार्वाही गरेको थियो । ती सवारी साधनमाथिको कार्वाहीबाट ३ लाख ९९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
397
सम्बन्धित

लोकप्रिय

लोकप्रिय